मेचीनगर, १६ पुस । मेचीनगर–५ स्थित पिपलडाँडा टोलमा धार्मिक तथा सामाजिक उद्देश्यसहित श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना हुने भएको छ। पिपलडाँडा टोल विकास संस्थाको आयोजनामा उक्त महायज्ञ २०८२ साल माघ २६ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
महायज्ञका प्रमुख वाचकका रूपमा पं. श्री नेत्रप्रसाद भट्टराई रहनु भएको छ भने उपवाचकका रूपमा पं. श्री हरिप्रसाद गुरागाईं सहभागी हुनु हुनेछ। त्यस्तै, गणपति पूजा शंकर डुंगानाले सम्पन्न गर्ने कार्यक्रम रहेको छ।
आयोजक संस्थाका अनुसार महायज्ञबाट संकलित सहयोग रकम पिपलडाँडा टोलको सामुदायिक भवन निर्माण, जग्गा खरिद तथा टोल विकाससम्बन्धी कार्यहरूमा उपयोग गरिनेछ। धार्मिक कार्यक्रममार्फत समाजमा सद्भाव, नैतिकता तथा आध्यात्मिक चेतनाको अभिवृद्धि गर्ने उद्देश्य लिइएको आयोजकले जनाएको छ।
दैनिक कार्यक्रमअनुसार बिहान कलश यात्रा, पूजा–अर्चना, सामूहिक पाठ, दिउँसो कथा प्रवचन, तथा साँझमा भजन–कीर्तन र भागवत महात्म्य वाचन गरिने जनाइएको छ। महायज्ञको अन्तिम दिन पूर्णाहुति, प्रसाद वितरण तथा समापन कार्यक्रम आयोजना गरिनेछ।
मेचीनगर क्षेत्रका श्रद्धालु भक्तजनहरूलाई कार्यक्रममा उपस्थित भई पुण्य लाभ लिनुका साथै कार्यक्रम सफल बनाउन सहयोग गरिदिन आयोजक समिति संयोजक सुरज देवकोटाले आग्रह गर्नुभएको छ।

















