मेचीनगर, १० फागुन । मेचीनगर–९ मा सञ्चालित ल्होत्से इङ्लिस स्कूलको ३३ औँ वार्षिकोत्सव कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । धुलाबारीको टाउन हलमा आयोजित स्कूलको वार्षिकोत्सवमा ५ भन्दा बढी विद्यार्थीले आफ्नो प्रतिभा अभिभावकमाझ प्रस्तुत गरेर देखाएका छन् ।

कार्यक्रममार्फत अतिरिक्त विधा अन्तर्गत गायन र नृत्यमा विद्यार्थीको प्रतिभाको खोजी गरिएको हो । पहिलो दिन कक्षा पिजीदेखि कक्षा ३ सम्मका विद्यार्थीले गीत तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयकी प्रशासन प्रमुख रिना थापा मगरले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्याब्सन झापाका वरिष्ठ उपाध्यक्ष हरिकृष्ण पाठक रहेका थिए । त्यस्तै, दोस्रो दिन कक्षा ४ देखि १० सम्मका विद्यार्थीले फेसन सो, नृत्य तथा गायन प्रस्तुत गरेको स्कूलका प्रिन्सिपल कमल नेपालले जानकारी दिए । स्कूलको वार्षिकोत्सव विद्यार्थीको प्रतिभासँग जोडेर मनाइएको उनले बताए ।

स्कूलका निर्देशक धनराज थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक आशा पौडेल, विवेक कालिकोटे, रिना पाण्डे तथा विद्यार्थीहरुले आलोपालो गरेका थिए । नयाँ व्यवस्थापनबाट सञ्चालन गरिएको ल्होत्से स्कूल पछिल्लो समय प्रविधिमैत्री शिक्षामा अगाडि रहेको छ । नयाँ व्यवस्थापन पछिको यो वार्षिकोत्सव तेस्रो हो ।