झापा । श्रम संस्कृति पार्टीले आगामी कात्तिक १७ गते झापाको पूर्वी प्रवेशद्वार काँकरभिट्टामा आयोजना गर्न लागेको जनसभा तथा विशेष कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

‘देश माटोमय भइसक्यो’ भन्ने मूल नाराका साथ आयोजना हुने जनसभामा पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङ सहभागी हुने कार्यक्रम तय भएको मेचीनगर अध्यक्ष पदम सुनवारले जानकारी दिए।

जनसभाको मुख्य आयोजक श्रम संस्कृति पार्टी झापा जिल्ला समिति र सहआयोजक मेचीनगर नगर समिति  रहेकाे युवा नेता बालकृष्ण थापाले बताए ।  कार्यक्रममार्फत पार्टीको विचार, उद्देश्य, श्रम संस्कृति, उत्पादनमुखी अभियान तथा समसामयिक राष्ट्रिय राजनीतिक विषयमा अध्यक्ष साम्पाङले सम्बोधन गर्ने बताइएको छ।

श्रम, उत्पादन र आत्मनिर्भरतालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको पार्टीले जनसभालाई आफ्नो राजनीतिक तथा सांगठनिक अभियानको महत्त्वपूर्ण कार्यक्रमका रूपमा लिएको छ।

आयोजकले जनसभामा झापासहित पूर्वी क्षेत्रका नेता–कार्यकर्ता, शुभचिन्तक, युवा तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गर्दै कार्यक्रममा उपस्थितिका लागि सबैमा सार्वजनिक आह्वान गरेको छ।