मेचीनगर । झापा क्षेत्र नम्बर १ को राजनीतिमा यतिबेला एउटा नाम जनताको मुखमुखमा छ– सुवेशकुमार पनेरु । मेचीनगर–१० का स्थायी बासिन्दा पनेरु शक्ति, पद वा संयोगबाट होइन, निरन्तर सेवा, संघर्ष र इमान्दारीबाट उदाएका नेता हुन् । उनको राजनीतिक यात्रा जनताको घर–आँगनबाट सुरु भएर अहिले क्षेत्रीय बहसको केन्द्रमा आइपुगेको छ ।
विद्यार्थी राजनीतिमा चेतनाको बीउ रोप्दै सुरु भएको उनको यात्रा तरुण दल हुँदै नेपाली कांग्रेसको जिम्मेवार नेतृत्वसम्म पुगेको छ । राजनीतिलाई अवसर होइन, दायित्व ठान्ने पनेरुको स्वभाव सुरुदेखि नै स्पष्ट थियो । यही सोचले वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा मेचीनगर–१० को वडा अध्यक्षका रूपमा जनताले उनलाई विश्वास गरेर जिताए ।
वडा अध्यक्ष बनेपछि पनेरु कुर्सीमा सीमित भएनन् । उनी टोल–टोल पुगे, समस्या सुने, समाधान खोजे । कसैको घरमा विपत्ति आयो भने उनी अघि सरे, कसैको आशा टुट्दै थियो भने भरोसा बने । सडक, खानेपानी, शिक्षा, सामाजिक सेवा र विपद् व्यवस्थापनमा देखाएको सक्रियताले उनलाई ‘कागजका नेता’ होइन, ‘कामका नेता’ को पहिचान दिलायो ।

अहिले उनी नेपाली कांग्रेस मेचीनगरको सभापतिको जिम्मेवारीमा छन् । पद बढे पनि उनको जनसम्पर्क, सरलता र जनमुखी सोच उस्तै छ । पार्टी सुदृढीकरणसँगै जनताको आवाजलाई प्राथमिकतामा राख्ने उनको शैलीले उनलाई कार्यकर्ता र सर्वसाधारण दुवैको प्रिय बनाएको छ ।
यसअघि झापा क्षेत्र नम्बर १ बाट विश्वप्रकाश शर्मा निर्वाचित भएका थिए । यसपटक शर्मा उम्मेदवार नबन्ने र कांग्रेसका अर्का प्रभावशाली नेता विमल आचार्य पनि मैदानमा नउत्रने भएपछि पनेरुको नाम स्वाभाविक रूपमा अगाडि आएको हो ।
जनताको विश्वास, अनुभव र सेवामूलक राजनीतिका कारण पनेरु आज झापा क्षेत्र नम्बर १ मा आशा, भरोसा र नयाँ राजनीतिक सम्भावनाको प्रतीक बनेका हुन् ।
कोभिड–१९ महामारीका बेला सबैका लागि भय र अनिश्चितताको समय थियो । त्यही कठिन घडीमा उनै पनेरु जनताबाट टाढा बसेनन् । वडाका हरेक घरमा पुगेर उनले आफैं बिरामीका लागि औषधी बोके, संक्रमित र जोखिममा रहेका परिवारलाई आवश्यक सल्लाह दिए र विपन्न घरपरिवारमा राहत तथा राशन वितरण गरे । संक्रमणको डरभन्दा माथि उठेर उनले देखाएको मानवीय व्यवहार आज पनि स्थानीयको स्मृतिमा ताजै छ । धेरैका लागि उनी त्यस बेला नेता होइन, अभिभावक बने ।
संकटमा सँगै उभिएको, सेवामा खटिएको र भरोसा दिलाएको यही यात्राले पनेरुलाई आज झापा क्षेत्र नम्बर १ मा रुचाउनेहरु उल्लेख्य छन् ।

















