झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा आइतबार आफ्नो गृह नगर धुलाबारी आएर कार्यकर्तालाई सम्बोधन गरेका छन् । धुलाबारीमा आयोजित कार्यक्रममा उनले सयौँको संख्यामा उपस्थित कांग्रेस कार्यकर्तालाई सम्बोधन गरेका हुन् । 

कार्यक्रममा कांग्रेस झापा क्षेत्र नम्बर–१ का उम्मेदवार केशवराज पाण्डे पनि मञ्चमै उपस्थित थिए । विश्वप्रकाश शर्माले पाण्डेलाई आगामी निर्वाचनमा भोट दिन अपिल गर्दै ‘पाण्डेलाई जिताउनु भनेको मलाई जिताउनु जस्तै हो’ भन्ने अभिव्यक्ति दिएपछि उक्त कार्यक्रमले राजनीतिक तथा कानुनी बहस जन्माएको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा भेला, जुलुस, सभा तथा २५ जनाभन्दा बढीको भेला गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ । साथै, उम्मेदवार तथा दलहरुले फागुन ४ गतेपछि मात्रै औपचारिक प्रचारप्रसार गर्न पाउने व्यवस्था रहेको छ । तर, धुलाबारीमा आयोजित कांग्रेसको उक्त भेला यी व्यवस्थाको ठाडो उल्लंघन भएको भन्दै आलोचना सुरु भएको छ ।

स्थानीयस्तरमा सयौँ कार्यकर्ता उपस्थित रहेको उक्त भेलालाई राजनीतिक भाषणसहित सम्बोधन गरिनु आचारसंहिता विपरीत भएको आरोप छ । अझ उम्मेदवारलाई मञ्चमै राखेर मत माग्नु र आफूलाई उम्मेदवारसँग जोडेर अभिव्यक्ति दिनु निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन भएको टिप्पणी गरिएको छ ।

आफूलाई लोकतान्त्रिक पार्टीको रुपमा चिनाउँदै आएको नेपाली कांग्रेसले नै निर्वाचन आयोगका निर्देशनहरु पालना नगर्नु विडम्बनापूर्ण भएको विश्लेषकहरुको भनाइ छ । पार्टीभित्र रुपान्तरण र अनुशासनको कुरा गर्दै आएका नेता विश्वप्रकाश शर्माबाटै यस्तो कदम चालिनु गलत सन्देश जाने उनीहरुको तर्क छ ।

राजनीतिक दल तथा नेताहरुले निर्वाचन आयोगले बनाएको आचारसंहिता सबैका लागि बराबर लागू हुने विषय हो भन्ने कुरा बुझ्न आवश्यक रहेको बताइन्छ । सत्तामा रहेका वा ठूला दलका नेताहरुले नै आचारसंहिता उल्लंघन गरेमा त्यसले लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठ्ने खतरा रहेको सरोकारवालाहरुको चिन्ता छ ।

यस घटनाबारे औपचारिक रुपमा जानकारी नभए पनि उक्त भेला आचारसंहिता विपरित हुने झापा क्षेत्र नं १ निर्वाचन कार्यालय प्रमुख गोपी विश्वकर्माले बताए । यदि त्यस्तो हो भने आवश्यक छानबिन गरी उम्मेदवारलाई सचेत गराउने उनले बताएका छन् ।