काँकरभिट्टा, २ फागुन । शिव पातालगंगा नवग्रह मन्दिर समितिले यही फागुन ६ गतेदेखि श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्ने भएको छ । मेचीनगर–६ स्थित शान्ति रमाइलो गाउँमा अवस्थित मन्दिर क्षेत्रमा फागुन १२ गतेसम्म पुराण सञ्चालन गर्ने भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । 

मन्दिर समितिका सल्लाहकार संयोजक सुभद्रा भट्टराई अर्यालले पञ्जमुखी शिवलिंग, बजरंगवली हनुमान तथा नवग्रह देउताहरुको प्रतिमा स्थापना गर्ने उदेश्यले पुराण आयोजना गरिएको बताइन् । 

मन्दिर समितिका अध्यक्ष देवराज निरौलाले शिव पातालगंगा क्षेत्रलाई धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नका लागि पुराण सुरु गर्न लागिएको बताए ।

प्रमुख कथावाचकमा पण्डित मुकुन्द नेपाल तथा पण्डित प्रेम सुवेदी उपवाचक रहने सप्ताह महायज्ञमा दैनिक पूजा अर्चना, भागवत पाठ, कथा प्रवचन हुनेछ । 

मन्दिर समितिका संस्थापक अध्यक्ष एवं संरक्षक शंकर भट्टराईको पहलमा उक्त मन्दिर स्थापना गरिएको हो । पूर्वकै धार्मिक गन्तव्य बनाउने उद्देश्य राखेर मन्दिर समिति सक्रिय छ । पुराण सम्पन्न गर्नका लागि मन्दिर समितिले सबै दाताहरुप्रति सहयोगका निम्ति आव्हान पनि गरेको छ ।