बाहुण्डाँगी । मेचीनगर–४ स्थित तुषार फर्निचर उद्योग औपचारिक रूपमा सञ्चालनमा आएको छ। उद्योगको उद्घाटन फागुन १४ गते विशेष कार्यक्रमबीच सम्पन्न भएको सञ्चालक जीवनकुमार मोतेले जानकारी दिएका छन्।
उनका अनुसार उद्योग स्थापना गर्नुको मुख्य उद्देश्य स्थानीय स्तरमै गुणस्तरीय तथा आधुनिक डिजाइनका फर्निचर सामग्री उत्पादन गरी उपभोक्तालाई सहुलियत मूल्यमा उपलब्ध गराउनु हो। “लामो समयदेखि आफ्नै ठाउँमा उत्पादनमूलक व्यवसाय गर्ने सोच थियो। बजारमा गुणस्तरीय फर्निचरको माग बढ्दै गएको देखेर उद्योग स्थापना गर्ने निर्णय लिएको हुँ,” उनले बताए।
उद्योग पूर्ण रूपमा स्वदेशी लगानीमा सञ्चालनमा आएको छ। करिब १ करोड रुपैयाँ लगानीमा स्थापना गरिएको उद्योगले प्रारम्भिक चरणमा २० जना स्थानीय युवालाई रोजगारी प्रदान गरेको छ। आगामी दिनमा उत्पादन विस्तारसँगै थप रोजगारी सिर्जना गर्ने योजना रहेको सञ्चालक मोतेले जनाए।
उद्योगमा घर तथा कार्यालय प्रयोजनका सोफा, कुर्सी, टेबल, बेड, दराजलगायत विभिन्न काठजन्य फर्निचर सामग्री उत्पादन तथा बिक्री गरिन्छ। ग्राहकको आवश्यकता अनुसार अर्डर (कस्टमाइज) फर्निचर बनाउने सुविधा समेत उपलब्ध छ। दक्ष कारीगरमार्फत गुणस्तरीय काठ र सामग्री प्रयोग गरी टिकाउपनमा विशेष ध्यान दिइएको उद्योगले जनाएको छ।
बजारमा बढ्दो प्रतिस्पर्धाका बीच सहुलियत मूल्य, उच्च गुणस्तर र आधुनिक डिजाइनमार्फत फरक पहिचान बनाउने लक्ष्य उद्योगले लिएको छ। उद्घाटनको अवसरमा फर्निचर तथा फर्निसिङ सामग्रीमा १० प्रतिशत र प्लास्टिकका सामानमा ५ प्रतिशत छुटको व्यवस्था गरिएको छ। उक्त छुट फागुन १४ देखि १८ गतेसम्म लागू हुनेछ।
स्थानीय स्रोत–साधनको अधिकतम प्रयोग गर्दै समुदायसँग सहकार्य गर्ने नीति उद्योगले अवलम्बन गरेको छ। भविष्यमा नयाँ प्रविधि भित्र्याउने, आधुनिक डिजाइन विस्तार गर्ने तथा आवश्यकताअनुसार अन्य स्थानमा शाखा विस्तार गर्ने योजना समेत रहेको बताइएको छ।
वैदेशिक रोजगारीका क्रममा केही समय खाडी मुलुकमा बिताएका मोतेले स्वदेशमै केही गर्ने उद्देश्यले उद्योग सञ्चालनमा ल्याएको उल्लेख गर्दै ग्राहक तथा शुभेच्छुकलाई उद्योग अवलोकन गरी गुणस्तरीय सेवा लिन आग्रह गरेका छन्।

















