झापा । प्रतिनिधि सभा निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षा सतर्कता कडा पारिएको छ । सोही क्रममा मेचीनगर नगरपालिका–५ र ८ नम्बर वडामा सर्वसाधारणलाई सचेत गराउन माइकिङ कार्यक्रम सञ्चालन गरिएको छ ।

विओपी नकलबन्दाले निर्वाचन अवधिमा सीमा क्षेत्रबाट हुन सक्ने अवाञ्छित गतिविधि नियन्त्रण गर्न विशेष निगरानी बढाएको जनाएको छ । साथै, होली पर्वका नाममा जबर्जस्ती रंग दल्ने, मादक पदार्थ सेवन गरी हुलहुज्जत गर्ने, सार्वजनिक शान्ति भंग गर्ने तथा सीमा क्षेत्रमा अवैध आवत–जावत नगर्न माइकिङमार्फत जानकारी गराइएको विओपी नकलबन्दाका प्रहरी नायव निरीक्षक सूर्यकुमार श्रेष्ठले बताए ।

सशस्त्र प्रहरी बल नेपाल लगायतका सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा संयुक्त गस्तीलाई तीव्र बनाएका छन् । निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न स्थानीयवासीसँग सहयोगको अपिल गरिएको छ ।

सीमा नाका बन्द रहने अवधिमा स्थानीयवासीलाई आवत–जावत नगर्न तथा सुरक्षा निकायलाई सहयोग गर्न आग्रह गरिएको छ । सूचनाअनुसार २०८२ साल फागुन १८ गते राति १२ बजेदेखि २०८२ फागुन २१ गते राति १२ बजेसम्म भारतको किसनगञ्जदेखि दार्जिलिङ जिल्लासँग जोडिएका सम्पूर्ण सीमा नाका पूर्ण रूपमा बन्द रहने जनाइएको छ ।