मेचीनगर । मेचीनगर–३ वडा कार्यालय अन्तर्गत रहेको खेलकुद समितिको आयोजनामा जारी वडा स्तरीय नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा वडा नम्बर- ११ र वडा नम्बर - ९ प्रवेश गरेका छन् । आइतबार सम्पन्न क्वाटरफाइनल खेलहरूमा वडा नम्बर- ११ ले वडा नम्बर -३ लाई तथा वडा नम्बर- ९ ले वडा नम्बर- ६ लाई पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेका हुन् ।

बलभद्र आधारभूत विद्यालयको खेलमैदानमा भएको पहिलो खेलमा वडा नम्बर -११ ले वडा नम्बर- ३ लाई रोमाञ्चक ४–३ गोलअन्तरले हरायो । वडा नम्बर -३ का लागि केशव मगरले २ गोल र उज्वल खड्काले १ गोल गरे। विजेता टोली वडा नम्बर- ११ का सञ्जित राजवंशी, सनम राई, सुजल धिमाल र सुजित मेचेले समान १–१ गोल गर्दै टिमलाई जित दिलाए । उत्कृष्ट प्रदर्शनका लागि वडा नम्बर ११ का सुजल धिमाल ‘म्यान अफ द म्याच’ घोषित भए । उनलाई वहुवन सामुदायिक वनका सह–सचिव रमेश भट्टराईले नगद १ हजार रुपैयाँसहित ट्रफी प्रदान गरे ।

WhatsApp Image 2026-05-03 at 7.34.36 PM

दोस्रो खेलमा वडा नम्बर ९ ले वडा नम्बर ६ लाई ३–२ गोल अन्तरले पराजित गर्‍यो । वडा नम्बर ९ का वासु तिम्सिनाले खेलको चौथो मिनेटमै गोल गर्दै अग्रता दिलाए । त्यसपछि २५ औँ मिनेटमा परिवेश लिम्बू र ३८ औँ मिनेटमा रञ्जित लिम्बूले गोल गर्दै टोलीलाई ३–० को मजबुत स्थितिमा पुर्‍याए ।

वडा नम्बर- ६ का मनिष तामाङले ४२ औँ मिनेटमा र रमेश क्षेत्रीले ५७ औँ मिनेटमा गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । उक्त खेलको ‘म्यान अफ द म्याच’ बासु तिम्सिना बने । विजेता टोलीका उत्कृष्ट खेलाडीलाई समाजसेवी राजेन्द्र थापाले नगद १ हजार रुपैयाँ  र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर थापाले ट्रफी प्रदान गरे ।

वडा कार्यालयको आर्थिक सहयोगमा सञ्चालन भइरहेको प्रतियोगितामा विजेता टोलीले नगद ४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल हात पार्नेछन् । यसैबीच, भोलि हुने क्वाटरफाइनल खेल अन्तर्गत पहिलो खेल वडा नम्बर -१० र वडा नम्बर- १२ तथा दोस्रो खेल वडा नम्बर- ५ र वडा नम्बर- २ बीच हुने आयोजक समितिका सदस्य भागेन्द्र मगरले जानकारी दिए ।