झापा । झापाको मेचीनगर नगरपालिका–३ वडा कार्यालयमा सोमबार स्थानीय युवाले तालाबन्दी गरेका छन्। वडा अध्यक्षले सडक बत्ती जडानका लागि विनियोजित करिब ३ लाख रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै उनीहरूले निष्पक्ष छानबिन र कानुनी कारबाहीको माग गरेका हुन्।
आन्दोलनमा सहभागीहरूले वडा अध्यक्षले कार्यसमितिको निर्णयविपरीत योजना सञ्चालन गरेको, उपभोक्ता समिति गठनमा मनपरी गरेको तथा सडक बत्ती जडानका लागि छुट्याइएको बजेटमा हिनामिना भएको आरोप लगाएका छन्।
स्थानीय युवा जनजीर कटेलका अनुसार सडक बत्ती जडानका लागि विनियोजित रकम अनियमित रूपमा निकासा गरिएको भन्दै उनीहरूले यसअघि नै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीलाई जानकारी गराएका थिए। तर, मागअनुसार कुनै ठोस पहल नभएको र समस्या समाधानतर्फ चासो नदिइएको आरोप लगाउँदै विरोधस्वरूप वडा अध्यक्षको कार्यालयमा तालाबन्दी गर्न बाध्य भएको उनले बताए।
कटेलले सडक बत्ती योजनामा भएको भनिएको आर्थिक अनियमितताबारे निष्पक्ष छानबिन गरी दोषी देखिए कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। यस घटनाले मेचीनगर–३ मा स्थानीय तहको बजेट पारदर्शिता र योजना कार्यान्वयन प्रक्रियामाथि प्रश्न उठाएको छ। अब सम्बन्धित निकायले छानबिन गरेर वास्तविकता सार्वजनिक गर्ने अपेक्षा स्थानीयवासीले गरेका छन्।


















