झापा । मेचीनगर–६ स्थित काँकरभिट्टा खेलमैदानमा शुक्रबारदेखि मेची नेत्रालय काँकरभिट्टा अन्तरविद्यालय लिग कम नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा नर्थप्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल र सूर्योदय इङ्लिस बोर्डिङ स्कुलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दुवै टोलीले आक्रमणलाई तीव्रता दिए पनि गोल गर्न सकेनन् । दोस्रो हाफमा भने खेल थप रोमाञ्चक बन्यो । दोस्रो हाफको १३औँ मिनेटमा नर्थप्वाइन्टका सपोज भण्डारीले गोल गर्दै आफ्नो टोलीलाई १–० को अग्रता दिलाए ।

c46cb537-3953-468a-83b6-380129cce45b

अग्रता लिएपछि नर्थप्वाइन्टले खेल आफ्नो नियन्त्रणमा राख्ने प्रयास गरेको थियो । तर, सूर्योदयले अन्तिम समयसम्म हार नमानेपछि खेलको अतिरिक्त समयमा बराबरी गोल गर्न सफल भयो । दोस्रो हाफको अतिरिक्त समयमा करुन थापाले सूर्योदयका लागि गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्‍याए ।

त्यसपछि दुवै टोलीबाट निर्णायक गोलका लागि प्रयास भए पनि थप गोल हुन नसकेपछि खेल बराबरीमा सकियो । बराबरीसँगै नर्थप्वाइन्ट र सूर्योदयले समान १–१ अंक प्राप्त गरेका छन् ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका नर्थप्वाइन्टका जर्सी नम्बर ११ का सोयम कार्की म्यान अफ द म्याच घोषित भए । उनले नगद १ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।

4328e1d4-09d8-43a5-9c78-54c106b780f4

प्रतियोगितामा मेचीनगर क्षेत्रका ९ वटा विद्यालय सहभागी छन् । सहभागी विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । पोल ‘ए’ मा नर्थप्वाइन्ट इङ्लिस बोर्डिङ स्कुल, सूर्योदय इङ्लिस बोर्डिङ स्कुल, अरुणोदय इङ्लिस बोर्डिङ स्कुल, झापा नेशनल स्कुल र पशुपति इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

त्यस्तै, पोल ‘बी’ मा तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल, गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल, श्री काँकरभिट्टा माध्यमिक विद्यालय र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुल रहेका छन् ।

प्रतियोगिताका खेलहरू प्रत्येक हप्ताको शनिबार र आइतबार सञ्चालन हुनेछन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्ने टोलीहरू नकआउट चरणमा प्रवेश गर्नेछन् ।

773643557_28281373204799638_4104319606504135600_n

प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । विद्यालयस्तरमा फुटबल खेलको विकास, नयाँ प्रतिभाको पहिचान तथा खेलाडीलाई प्रतिस्पर्धात्मक वातावरण प्रदान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगितामा व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । बेस्ट कोच, बेस्ट गोलरक्षक, बेस्ट डिफेन्स, बेस्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही २ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद ३ हजार १ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

भोलि दुई खेल

प्रतियोगिताअन्तर्गत भोलि शनिबार दुई खेल हुने भएका छन् । पहिलो खेलमा श्री काँकरभिट्टा माध्यमिक विद्यालय र लोफोफोरस इङ्लिस बोर्डिङ स्कुलबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै, दोस्रो खेलमा गंगा मेमोरियल इङ्लिस बोर्डिङ स्कुल र तारापुञ्ज इङ्लिस बोर्डिङ स्कुल आमनेसामने हुने आयोजकले जनाएको छ ।

उद्घाटन खेल बराबरीमा सकिएसँगै दुवै टोलीले समान अंकबाट प्रतियोगिताको सुरुवात गरेका छन् । आगामी खेलहरूमा विद्यालयस्तरका खेलाडीबीचको प्रतिस्पर्धा थप रोमाञ्चक हुने अपेक्षा गरिएको छ ।