झापा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मेचीनगरले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जंगली हात्ती नियन्त्रणका लागि प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई ध्यानाकर्षणपत्र बुझाएको छ।
भारतबाट दैनिक दर्जनौँको संख्यामा आउने जंगली हात्तीका कारण विशेषगरी मेचीनगरका १, २, ३, ४ र ५ नम्बर वडाका बासिन्दा प्रभावित हुँदै आएको भन्दै पार्टीले सरकारको ध्यानाकर्षण गराएको हो।
नेकपाका केन्द्रीय सदस्य, झापा जिल्ला सह–इन्चार्ज तथा राष्ट्रिय जागरण अभियान मेचीनगरका प्रमुख बासु दुलालको नेतृत्वमा गएको टोलीले बुधबार जिल्ला प्रशासन कार्यालय, झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलमार्फत प्रधानमन्त्रीलाई सम्बोधन गरिएको ध्यानाकर्षणपत्र बुझाएको हो।
पार्टीले विगतमा मौरीपालन, हात्तीबार रोपण, खाल्डो खन्ने तथा विद्युतीय तारबार निर्माणलगायतका प्रयास भए पनि समस्या समाधान हुन नसकेको जनाएको छ। २०६५ सालमा निर्माण गरिएको ६ किलोमिटर विद्युतीय तारबारपछि थप १८ किलोमिटर विस्तार भए पनि नियमित मर्मतसम्भारको अभावमा हात्तीले तारबार भत्काएर बस्तीमा प्रवेश गर्ने गरेको पत्रमा उल्लेख छ।
नेकपाले तत्काल प्रभावित क्षेत्रमा सुरक्षा निकायको बाक्लो उपस्थिति गराई ट्र्याक्टरसहित टोली परिचालन गर्न, विद्युतीय तारबारको पश्चिमपट्टिको बाटो मर्मत गर्न र हात्तीबाट भएको क्षतिको राहत तथा क्षतिपूर्ति सात दिनभित्र उपलब्ध गराउन माग गरेको छ।
दीर्घकालीन समाधानका लागि विद्युतीय तारबार व्यवस्थित गर्न, मेची नदी क्षेत्रमा कम्तीमा पाँच मिटर अग्लो ढुंगासहितको तारजाली बाँध निर्माण गर्न, गेट व्यवस्थित गर्न तथा कर्मचारीलाई कानुनअनुसार पारिश्रमिक उपलब्ध गराउनुपर्ने माग गरिएको छ।
त्यस्तै, हात्ती तथा अन्य वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा परिवारलाई २० लाख रुपैयाँ राहत र परिवारका अन्य सदस्यलाई योग्यताअनुसार रोजगारी उपलब्ध गराउनुपर्ने पार्टीको माग छ। हात्ती करिडोरका नाममा स्थानीयलाई विस्थापित गर्ने वा बल प्रयोग गर्ने कार्य स्वीकार्य नहुने चेतावनीसमेत दिइएको छ।
ध्यानाकर्षणपत्रमा नेकपा झापा क्षेत्र नं. १ का क्षेत्रीय इन्चार्ज ज्ञानेन्द्रप्रसाद भण्डारी, क्षेत्रीय संयोजक इन्दिरा कार्की, मेचीनगर इन्चार्ज राजु दाहाल र नगर संयोजक खगेन्द्र सिग्देलले हस्ताक्षर गरेका छन्। हस्तान्तरण कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य डिल्लीराम घिमिरे (हिक्मत) को समेत उपस्थिति रहेको पार्टी नेता दीपक उप्रेतीले जानकारी दिए।