मेचीनगर । झापा क्षेत्र नं. १ यतिबेला चुनावी चहलपहलले तातिएको छ । यही माहोलबीच मेचीनगर नगरपालिका वडा नं. ५ निवासी नरेशकुमार लावती फरक शैली, फरक सोच र ‘उज्यालो’ नारासहित मतदाताको घरदैलोमा पुगिरहेका छन् ।
उज्यालो नेपाल पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका लावती अहिले चुनाव चिन्ह विजुलीको बल्भ बोकेर जनतामाझ आशाको सन्देश फैलाइरहेका छन् ।
मेचीनगरको राजनीतिक र सामाजिक वृत्तमा नरेश लावती नयाँ नाम होइन । विगतमा विभिन्न पुराना राजनीतिक दलसँग आबद्ध रहँदै समाजसेवामा सक्रिय भूमिका निर्वाह गरेका उनी सामाजिक गतिविधिमा निरन्तर देखिँदै आएका व्यक्ति हुन् । विशेषतः खेलकुद क्षेत्रमा उनको सक्रियता उल्लेखनीय मानिन्छ । फुटबल र ब्याडमिन्टनप्रति विशेष रुचि राख्ने लावतीले स्थानीय
खेलकुद कार्यक्रम, प्रतियोगिता र खेलाडी प्रोत्साहनमा सक्दो सहयोग गर्दै आएका छन् । खेलकुदकै माध्यमबाट समाज बुझ्ने अवसर पाएका लावतीले खेलाडी उत्पादन, राज्यको नीति र नेतृत्वबीचको दूरी नजिकबाट अनुभूति गरे ।
‘प्रतिभा भएर पनि अवसर नपाउने अवस्था, नीति भएर पनि कार्यान्वयन नहुने अवस्था देख्दा मन पोल्थ्यो,’ उनी भन्छन् । यही अनुभवले उनलाई केवल आलोचक नभई समाधान खोज्ने भूमिकामा उभ्यायो । त्यसकै परिणाम आज उनी सक्रिय राजनीतिमा होमिएका छन् ।
लावती राजनीतिमा आउनुको अर्को कारण जेनजी आन्दोलनका क्रममा देखिएको दमन, शोषण र अन्याय रहेको बताउँछन् । युवाको आवाज दबाइने, असहमति सहन नसक्ने प्रवृत्तिले उनलाई राजनीतिमा हस्तक्षेप गर्न प्रेरित गर्यो । ‘म यहीँ हुर्केको, यहीँ बढेको मान्छे हुँ ।
यस क्षेत्रका समस्या किताबमा होइन, जीवनमै पढेको छु,’ उनी आत्मविश्वासका साथ भन्छन् । उनका अनुसार झापा–१ का आवश्यकता ठूला नाराभन्दा पनि सूक्ष्म तर प्रभावकारी समाधान हुन् । ‘गफ होइन काम, भाषण होइन परिणाम’ भन्ने उज्यालो नेपाल पार्टीको मूल सिद्धान्तलाई आत्मसात गर्दै लावती चुनावी मैदानमा उत्रिएका छन् ।
उनी अहिले साथीभाइ, इष्टमित्र र सर्वसाधारणसँग प्रत्यक्ष भेटघाट गर्दै चुनाव चिन्ह बिजुलीको बल्भमा मतदान गर्न आग्रह गरिरहेका छन् । केही दिनमै औपचारिक घरदैलो अभियान सुरु गर्ने तयारीमा रहेका लावती मतदातासँग प्रत्यक्ष संवादलाई आफ्नो मुख्य शक्ति मान्छन् ।
झापा क्षेत्र नं. १ का मतदातासमक्ष अपिल गर्दै लावती भन्छन्, ‘सामाजिक न्याय, सुशासन र जवाफदेहिता मेरो प्रतिबद्धता हो । मलाई विश्वास गरेर भोट दिनुहोस्, जितेपछि तपाईंहरुप्रति पूर्ण जिम्मेवार भएर काम गर्नेछु ।’ उज्यालो नीतिको नारासहित अघि बढिरहेका नरेश लावती यसपटक झापा–१ को चुनावी राजनीतिमा कत्तिको उज्यालो छर्न सफल हुन्छन् भन्ने चासो बढ्दै गएको छ ।

















