झापा । साना किसान कृषि सहकारी संस्था लि. बाहुण्डाँगीले आफ्नी शेयर सदस्य स्वर्गीय टीका देवी नेपालको परिवारलाई म्यादी जीवन बीमा कार्यक्रमअन्तर्गत प्राप्त रु. ३ लाख राहत रकम हस्तान्तरण गरेको छ ।

संस्थामार्फत म्यादी जीवन बीमा कार्यक्रममा आबद्ध रहेकी शेयर सदस्य स्वर्गीय टीका देवी नेपालको निधनपछि बीमा कम्पनीबाट प्राप्त राहत रकमको चेक उनका श्रीमान गोविन्दप्रसाद नेपाललाई एक कार्यक्रमबीच हस्तान्तरण गरिएको हो । संस्थाका अध्यक्ष टुका देवी दाहालले उक्त चेक हस्तान्तरण गर्दै शोकाकुल परिवारप्रति गहिरो समवेदना व्यक्त गर्नुभयो ।

सो अवसरमा अध्यक्ष दाहालले सहकारी संस्था बचत तथा ऋण कारोबारमा मात्र सीमित नभई सदस्यहरूको सामाजिक तथा आर्थिक सुरक्षालाई समेत प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताइन् । सदस्यहरूलाई आकस्मिक विपद् तथा दुःखद परिस्थितिमा आर्थिक राहत पुगोस् भन्ने उद्देश्यले म्यादी जीवन बीमा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमले सदस्य परिवारलाई कठिन समयमा ठूलो राहत मिल्ने विश्वास व्यक्त गरिन् ।

739470789_3165978046927803_3830615830693865031_nउनले सहकारीमार्फत सञ्चालन हुने सामाजिक सुरक्षा कार्यक्रमहरूले सदस्य र उनीहरूका परिवारमा सुरक्षा अनुभूति बढाएको बताउँदै सबै सदस्यलाई संस्थाले सञ्चालन गरेका बीमा तथा अन्य सामाजिक सुरक्षा योजनामा सहभागी हुन आग्रह गरिन् ।

राहत रकम ग्रहण गर्दै गोविन्दप्रसाद नेपालले दुःखको घडीमा आर्थिक सहयोग उपलब्ध गराएकोमा सहकारी संस्था र बीमा कार्यक्रमप्रति आभार व्यक्त गरे । उनले यस्तो सहयोगले परिवारलाई केही राहत पुगेको बताउँदै सदस्यहरूको हितमा यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा राखे ।

साना किसान कृषि सहकारी संस्था लि. बाहुण्डाँगीले आफ्ना शेयर सदस्यहरूको आर्थिक, सामाजिक तथा पारिवारिक सुरक्षालाई मध्यनजर गर्दै म्यादी जीवन बीमासहित विभिन्न सदस्य–हितमुखी कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाका अनुसार कुनै सदस्यको असामयिक निधन भएमा म्यादी जीवन बीमा कार्यक्रममार्फत परिवारलाई राहत उपलब्ध गराउने व्यवस्था रहेको छ, जसले सदस्य परिवारलाई कठिन परिस्थितिमा आर्थिक सहयोग पुर्‍याउँदै आएको छ ।

कार्यक्रममा संस्थाका अध्यक्ष टुकादेवी दाहाल, सञ्चालक समिति, मुख्य प्रबन्धक पोषककुमार दर्जी तथा शेयर सदस्यहरूको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले सहकारीले सदस्यहरूको हितलाई केन्द्रमा राखेर सञ्चालन गरिरहेका सामाजिक सुरक्षा कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले सहकारीप्रति सदस्यहरूको विश्वास अझ मजबुत बनाएको धारणा व्यक्त गरेका थिए ।