झापा । संबिधान दिवस तथा राष्ट्रिय दिबस मूल समारोहको सम्पूर्ण तयारी पूरा भएको छ । कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री गोम्बु शेर्पाका अनुसार भोली असोज ३ गते बिराटनगर स्थित शहीद रंगशालामा हुने मूल समारोहको सम्पूर्ण तयारी पूरा गरिएको हो । भोली असोज ३ गते बिहान साढे ६ बजे आदर्श माबि बिराटनगर अगाडी भेला भएर प्रभातफेरी गरिने छ । शहीद रंगशालामा प्रदेश प्रमुख पर्शुराम खापुङको प्रमुख आतिथ्यतामा मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा मुल समारोह हुने छ । मुल समारोहमा मुख्य आकर्षण बिभिन्न १६ जातजाती भाषाभाषीको साँस्कृतिक झाँकी प्रतियोगिता हुने छ । साथै खेलकौशल,प्रसिद्ध कलाकारहरुद्वरा राष्ट्रिय गीत प्रस्तुती र पुरस्कार बितरण लगायत कार्यक्रम गरिने छ ।
आज असोज २ गते बिहान खेलकुद बोर्डको आयोजनामा “कोशी दौडन्छ” रोड रेस, म्याराथुन दौड सम्पन्न भएको छ । रोड रेसको मुख्यमन्त्री हिक्मत कार्कीले उदघाटन गर्नुभयो ।सामाजिक बिकास मन्त्रालयले जलबायु परिवर्तन र बिपद ब्यबस्थापनमा प्रदेश सरकारको भूमिका बिषयमा खुल्ला निबन्ध प्रतियोगिता सम्पन्न गरेको छ । निबन्ध प्रतियोगितामा भोजपुरको रामप्रसाद राई गाँउपालिकाका दुर्गा प्रसाद नेपाल प्रथम हुनुभएको छ । “जलबायु परिवर्तन र बिपद ब्यबस्थापनमा प्रदेश सरकारको भूमिका” बिषयक प्रतियोगितामा काठमाडौकी रबिना मर्हजन द्वितीय र धादिङका सम्राट श्रेष्ठ तृतीय हुनुभएको छ । यसैगरी ओखलढुङ्गाकी निहारिका धमला,संखुवासभाकी साबित्रा पन्त सुबेदी र इटहरीकी अनुशा रावत सान्तव्ना हुनुभएको छ ।संबिधानदिवसका अवसरमा अन्तरसंबाद तथा भिडियो प्रतियोगिता समेत आयोजना हुने कार्यक्रम छ । यस्तै असोज ४ गते स्वास्थ्य मन्त्रालयको अगुवाईमा रक्तदान कार्यक्रम तथा पर्यटन वन तथा वातावरण मन्त्रालयको अगुवाईमा बृक्षारोपण कार्यक्रम गरिने भएको छ । कार्यक्रमको समग्र समन्वय तथा अनुगमन आन्तरिक मामिला तथा कानुन मन्त्रालयले गरिरहेको छ ।

















