झापा ।  नेपालमा मनसुनजन्य वर्षाको गतिविधि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै झापामा सशस्त्र प्रहरी बल, नेपालले विपद् जोखिम न्यूनीकरण तथा उद्धार तयारीलाई तीव्रता दिएको छ।

सम्भावित भारी वर्षाबाट हुन सक्ने बाढी, डुबान तथा अन्य विपद्का घटनालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल, नेपालले मेची नदी, कनकाई नदी, रतुवा नदी तथा बिरिङ खोला आसपासका गाउँबस्तीमा विपद् जन्य सचेतनामूलक माइकिङ कार्यक्रम सञ्चालन गरिरहेको छ। असोज ८ देखि १२ गतेसम्म जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा माइकिङ गरी स्थानीयलाई सतर्क रहन आग्रह गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपाल नं. २ गण हेडक्वार्टर झापाका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक जोगेन्द्र केसीका अनुसार सम्भावित विपद्का घटनामा खोज तथा उद्धार कार्यलाई छिटो, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक तयारी गरिएको छ।

उनका अनुसार जोखिमयुक्त नदी तथा खोलाको नियमित निगरानीसँगै जोखिम नक्साङ्कन, नियमित पेट्रोलिङ तथा बाढीको सम्भावित जोखिम रहेका क्षेत्रको पहिचान गरिनेछ। पुल, तटबन्ध, कमजोर नदी किनारा, बस्ती तथा डुबान हुन सक्ने स्थानलाई विशेष निगरानीमा राखिनेछ।

त्यसैगरी नदी तथा खोलाको पानीको सतह, बहावको तीव्रता र तटबन्धको अवस्थाबारे नियमित अवलोकन गरी अभिलेख राखिनेछ। सम्भावित जोखिम देखिए तत्काल सम्बन्धित युनिटमा सूचना आदानप्रदान गरी आवश्यक उद्धार टोली परिचालन गर्ने व्यवस्था मिलाइएको केसीले बताए।

प्राकृतिक विपद्को समयमा जनधनको क्षति न्यूनीकरण गर्न पूर्वसूचना, नियमित निगरानी, उद्धार सामग्री तथा जनशक्तिलाई तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ। विपद्को जोखिम रहेका क्षेत्रका स्थानीयलाई सतर्क रहन, नदी तथा खोला किनारमा नजान र जोखिमको अवस्था देखिए तत्काल सुरक्षाकर्मीलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ।

विपद्को समयमा तत्काल उद्धार तथा राहत कार्यमा परिचालन हुन सशस्त्र प्रहरी बल, नेपाल निरन्तर तयारी अवस्थामा रहेको केसीले जानकारी दिए।