चारआली । मेचीनगर–१२ स्थित चारआली साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले १८औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाको सभाहलमा सम्पन्न साधारण सभाका अवसरमा संस्थाको विकासमा योगदान पुर्‍याउने जग्गादाता, उत्कृष्ट उपभोक्ता तथा कर्मचारीलाई सम्मान गरिएको छ ।

‘पानी, समय र सम्पत्तिको सदुपयोग गरौँ, पानी नै जीवन हो, यसको संरक्षण गरौँ’ भन्ने सन्देशसहित आयोजित कार्यक्रम संस्थाका अध्यक्ष राजन चिमरियाको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा कोशी प्रदेशका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री चिन्तन पाठकको प्रमुख आतिथ्यता रहेको थियो । 

साधारण सभामा संस्थाको विगतको कार्यसम्पादन, आर्थिक अवस्था, उपलब्धि तथा आगामी कार्यदिशाबारे छलफल गरिएको थियो । अध्यक्ष चिमरियाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले हालसम्म गरेका गतिविधि, सेवा प्रवाहमा हासिल गरेका उपलब्धि र भावी योजनाबारे जानकारी गराए । कोषाध्यक्ष साउन मेचेले आर्थिक वर्ष २०८२/०८३ को आय–व्यय विवरण तथा आगामी वर्षको बजेट प्रस्तुत गरेका थिए ।

कार्यक्रममा संस्थाको स्थापना तथा पूर्वाधार विकासका क्रममा जग्गा उपलब्ध गराएर सहयोग गर्ने १० जना जग्गादातालाई विशेष सम्मान गरिएको थियो । सम्मानित हुनेहरूमा इन्द्रबहादुर विष्ट, विद्याकुमारी तिम्सिना, राममाया नेङ्बाङ, मनु लिम्बू चेम्जुङ, घनश्याम चिमरिया, श्रीप्रसाद थापा, रामनारायण यादव, मनिषा लेम्बु चेम्जुङ, जगन्नाथ भट्टराई र जानुका देवी अर्याल रहेका थिए । उनीहरूलाई दोसल्ला, खादा, माला तथा प्रमाणपत्र प्रदान गरिएको थियो ।

890719240_1066484483115701_5705756955673972400_nयसैगरी, संस्थाको सेवा तथा गतिविधिमा सक्रिय सहभागिता जनाउने उत्कृष्ट उपभोक्ताका रूपमा महिलातर्फ मनु लिम्बू र पुरुषतर्फ गङ्गालाल दाहाललाई सम्मान गरिएको थियो ।

संस्थाको सेवा व्यवस्थापनलाई प्रभावकारी बनाउन कर्मचारीले पुर्‍याएको योगदानको कदर गर्दै सहलेखापाल उषा आचार्य र मिटर रिडर राजकुमार राईलाई उत्कृष्ट कर्मचारी घोषित गरिएको थियो । दुवैलाई जनही १५ हजार रुपैयाँ नगद पुरस्कारसहित सम्मानपत्र प्रदान गरिएको संस्थाले जनाएको छ ।

कार्यक्रममा प्रमुख अतिथि मन्त्री चिन्तन पाठक, खानेपानी डिभिजन कार्यालय झापाका प्रमुख सुमन भट्टराई, मेचीनगर ११ का वडा अध्यक्ष रुद्र डाँगी, जग्गादाता जगन्नाथ भट्टराई, काँकरभिट्टा खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष रोहित बुढाथोकीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

वक्ताहरूले स्वच्छ खानेपानी नागरिकको स्वास्थ्य र जीवनसँग प्रत्यक्ष जोडिएको विषय भएकाले यसको संरक्षण, गुणस्तर कायम तथा सेवा विस्तारमा सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखेका थिए । खानेपानी संस्थाहरूले उपभोक्तालाई नियमित, सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन संस्थागत पारदर्शिता, जवाफदेहिता र प्रभावकारी व्यवस्थापनलाई प्राथमिकता दिनुपर्नेमा समेत जोड दिइएको थियो ।

संस्थाले आगामी दिनमा पनि उपभोक्तालाई स्वच्छ, सुरक्षित र भरपर्दो खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यसहित सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा मेचीनगरका विभिन्न वडाका वडाध्यक्ष, खानेपानी संस्थाका पदाधिकारी, सामाजिक संघसंस्थाका प्रतिनिधि तथा उपभोक्ताहरूको सहभागिता रहेको थियो । उपाध्यक्ष मैया कार्कीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव प्रेमराज घिमिरेले गरेका थिए ।